कर्णालीको मुगु जिल्लामा पर्ने रारा ताल निकै मनमोहक र प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको विभिन्न पुस्तक, पत्रपत्रिका र समाचार माध्यमबाट चर्चा आएकोले हामी पनि रारा घुम्न जाने निधो गरियो । नेपालको सबैभन्दा ठूलो ताल राराको महत्व धेरै नै रहेको छ । त्यहाँको अवस्था, कर्णालीको विकास र रारालाई प्रत्यक्ष हेर्न पाईने हुदा सवैले उत्सुकताका साथ यात्रा तय गरियो । बुटवलबाट रारा पुग्न दुईदिन लाग्यो । बुटवल–कोहलपुर २ सय २०किमी , कोहलपुर–सुर्खेत ५८ किमी र सुर्खेत–मान्म १५१ किमी छिचोलेर रारा पुग्न अझै करिब १५० किमी अगाडि जानु पर्ने रहेछ । कालीकोटको सदरमुकाम मान्मदेखि रारासम्म दूरी र समयको हिसाबले लगभग एकदिनको बाटो हो ।
कालीकोटको सदरमुकाम मान्मबाट नाग्मसम्मको ५० किमी कर्णाली राजमार्गमा कुदेपछि त्यसलाई छाडेर नाग्म–रारा ८३ किमी कच्ची सडकको यात्रा नेपाली भाषाको उद्गमस्थल सिञ्जा उपत्यका हुँदै जानुपर्छ । यो सडक, जसलाई नाग्म–गमगढी सडक खण्ड भनेर चिनिन्छ, यसको कूरी दूरी ९४ किमी हो । समुद्र सतहबाट २९ सय ९० मिटर अग्लोमा रारा ताल रहेको छ । रारा प्राकृतिक रूपमा अत्यन्त मनमोहक रहेको देखिन्छ । नेपाली सेनाले ट्रयाक खोलेको नाग्म–रारा सडक खण्डबारे आगन्तुकहरूमा एक खालको कौतूहल भेटिन्छ । कसैले यो खण्ड सजिलो ठान्छन् त कसैले निकै अप्ठ्यारो भएको अपेक्षा गर्छन् । कोही भने त्यो रोमाञ्चक हुने ठान्छन् । सजिलो ठान्नेहरूले कालिकोट नाग्मसम्म पक्की सडक भएपनि जीर्ण र साघुरो छ तर नाग्म देखि रारासम्म कच्ची सडक भएपनि अलि फराकिलो र त्यति खतरा नभएकोले सजिलो ठानेका छन् । नाग्मदेखि सिञ्जाको फाँट हुदै मनोरम प्राकृतिक सुन्दरता हेर्दै रारा जाँदा कसैले रोमाञ्चक ठान्नु स्वभाविक नै हो । नाग्म बजारबाट जुम्ला सदरमुकाम हेर्न र बीचमा पर्ने तातोपानीमा नुहाउन सकिने रहेछ । त्यहीँबाट रारा र जुम्ला जाने बाटो छुट्टिन्छ । कर्णाली राजमार्गबाहेक ताल्चा विमानस्थल भएर र जुम्लाको सिञ्जा उपत्यका छिचोल्दै पदयात्रा गरेर पनि रारा पुग्न सकिन्छ । कालीकोटको मान्म र नाग्ममा पनि होटल पाइन्छन् । त्यसैले जुम्ला र कालीकोटको सिमाना नाग्म बजारलाई आधार बनाएर पनि रारा पुग्न सकिन्छ । रारा पुग्ने बाटोमा सहज होटल नपाईने र रारा पुगेपछि खाने बस्ने ठाउँको समस्या, चिसो बढी हुने भएकाले खानभन्दा पनि सुत्ने ठाउँको अति नै समस्या रहेको पाइयो ।
दैलेखको किटु भिर, कालिकोटको सेराबाडा, टिमुरे, ताडी भिर, बिहानी, हूल्म, पिली जस्ता अति अप्ठ्यारो स्थान रहेका छन् । सुर्खेत जुम्ला सडकको ट्रयाक नेपाली सेनाले २०६३ साल चैत्र ३० गते खोलेको थियो । नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध तालको रुपमा रारा ताललाई लिइन्छ । मुगु जिल्लामा रहेको रारा ताललाई स्वर्गकी अप्सरा भनेर वि.सं. २०२० सालमा तत्कालीन राजा महेन्द्रले नामकरण गरेको भन्ने भनाइ छ ।
समुन्द्र सतहबाट २९ सय ९० मिटरको उचाइमा रहेको रारा ताल जान अहिले सहजतासमेत भइसकेको छ । सन् २००८ मा रामसार क्षेत्र घोषणा गरिएको रारा तालको अधिकतम लम्बाइ ५ किलोमिटर र अधिकतम चौडाइ ३.२ किलोमिटर छ भने गहिराइ १६७ मिटर छ । रारा तालको कूल १०.८ वर्ग किलोमिटरमा फैलिएको छ । राराको वरिपरि १०६ वर्ग किलोमिटर क्षेत्रफलमा रारा राष्ट्रिय निकुञ्ज फैलिएको छ । रारा दहलाई वि.सं.२०२० सालमा रारा तालको नामाकरण भएको थियो । घामको किरणअनुसार राराले आफ्नो कलर फेर्ने गर्दछ । रारा राष्ट्रिय निकुञ्जमा ५१ प्रजातिका स्तनधारी जनावर र २७२ प्रजातिका चराचुरुंगी पाइन्छन् । यो तालमा विश्वमै कहीँ पनि नभेटिने ‘स्नो टाउट’ प्रजातिको माछा पाइन्छ । नेपालको सबैभन्दा ठूलो रारा तालमा जति बाह्य पर्यटकहरूको आगमन हुनुपर्ने हो त्यति हुन सकेको छैन । तर स्वदेशी पर्यटकको भने उल्लेखनीय रुपमा आगमन हुने गरेको छ । रारा जान अहिले हवाई तथा स्थलमार्ग दुवै प्रयोग गर्न सकिन्छ । स्थल मार्ग हुँदै आफ्नै सवारी साधनमा जाने हो भने ताल नजिकैको सल्लाघारीमा गएर रोकिन्छ । कालिकोटको नाग्मबाट रारा नजिक सल्लेरी पुगेपछि करिब २५ मिनट घोडाको यात्राबाट रारातालमा पुग्न सकिन्छ । हुन त हिँडेर जाँदा पनि करिब २५, ३० मिनट नै लाग्ने हो तर हिँडेर जादा लेक लाग्न सक्ने सम्भावना, घोडा चढ्दाको मज्जा लिन नपाइने हुँदा धेरै जसो पैदल नगएर घोडा चढेर यात्रा गरेको पाइन्छ । छातीमा फैलिएको घाँसेमैदान, कोणधारी हरियो वन, चारैतिर ठूलो चौर, माथि नीलो आकाश, उत्तरतर्फ लस्करै हिमशृंखला, झरना अनि चिसो सिरेटोसँगै लुकामारी खेलेका सेता बादलको घुम्टोमुनि गाढा निलो देखिने मनोरम रारातालको दृश्यले सबैको थकान भुलाइदिन्छ । सिस्ने र कान्जिरोवा हिमाल रारामै आएर बसे जस्तै देखिने राराको वर्णन गरेर सकिँदैन । लामो दूरीको यात्रामा सबै थाकेका हुन्छन् नै तर राराको दृश्यले सबै थकान नै मेटाइदिँदो रहेछ । नयाँ वर्षको राराबाटै शुभकामना दिन पाइयो । एकपटक राराको अवलोकन गर्दा सुख के हो, यात्रा कस्तो हुन्छ र रारा पुगेपछि सबै दुःख कसरी मेटिँदो रहेछ भन्ने अनुभव गर्न पाइयो ।
कर्णाली प्राकृतिक सुन्दरताले धनी देखिन्छ तर मानवीय जीवनयापनका लागि प्राकृतिक रूपमा ठगिएको महसुस गर्न लायक छ । कालिकोट, जुम्ला, मुगुका मानिसहरूको ब्यवहार, सहयोग राम्रै लाग्यो । नयाँ वर्षलाई निकै ठूलो पर्वको रूपमा मनाउँदा रहेछन् । नयाँ वर्षको दिन आफन्तहरूलाई निम्तो गरी खानपान गर्ने, नाचगान गरी रमाइलो गर्ने एक प्रकारको दशैँजस्तै मान्दा रहेछन् । नेपालीको राष्ट्रिय पोशाकको रूपमा चिनिने दौरासुरुवाल पुरूषहरूले लगाउँछन् भने महिलाहरुले सारीचोलो लगाउने गरेको पाइयो । यसरी आफ्नो धर्म, भाषा, कला, संस्कृति, चालचलन र परम्पराको जगेर्ना गर्दै पर्व मनाउने गरेको लोभै लाग्दो देखियो । दुर्गम स्थान भएपनि त्यहाँका मानिसहरूमा आत्मियता र आत्मविश्वास सबैमा उत्तिकै रहेछ । कर्णालीको यात्राले त्यहाँको विकास, भौगोलिक अवस्था, वातावरण, प्राकृतिक सुन्दरता, त्यहाँका मानिसको बसाई, बानी व्यवहार, कला संस्कृति, खानपान, शिक्षा, स्वास्थ्यको अवस्था, विकासको गति र आवश्यकता, सेवासुविधा आदिको ज्ञान प्राप्त गर्ने अवसर मिलेको ठानेको छु ।
स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार सवैले तत्काल कर्णाली विकास गर्ने कार्यक्रम ल्याउनु पर्दछ । कालिकोट, मुगु, जुम्लाका सडकको अवस्था, त्यहाका मानिसको खाद्यान्नको अवस्था र आम्दानी एवं आर्थिक अवस्थासमेतलाई दृष्टिगत गर्दा निकै कठिन नै लाग्यो । कर्णालीको विकास गर्ने हो भने सोलारको माध्यमबाट सबै घरलाई उज्यालो कार्यक्रम, लिफ्ट सिस्टमबाट पिउने पानी र कृषि सिँचाइ कार्यक्रम, कर्णालीका कालिकोट, मुगु, डोल्पा, हुम्ला, जुम्ला जिल्लाका सबै नागरिकका लागि निःशुल्क मोबाइल सेवा र वाइफाइ सुविधा कार्यक्रम, पन्ध्रघर नमूना शिक्षा कार्यक्रम, सडक सुरक्षाका लागि सडकको स्तर उन्नति एवं सडकमा स्टिल गार्डरिल कार्यक्रम गरी तत्काल जीवनस्तर उठाउन सकिने देखिन्छ ।
सबैलै सम्भव भएसम्म एकपटक रारा जानुहोस्, हेर्नुहोस् , बुझ्नुहोस् र लेख्नुहोस् । यो भ्रमण गरेपछि मैले नयाँ ठाउँ मात्रै होइन कर्णालीको विकटता, जीवनशैली, दैनिकी, बोलिको लवज, खेतीपाती, वन–वनस्पतिको बारेमा जान्न, देख्न पाएँ । निकै खुसी पनि लाग्यो भने अर्को तिर सडक नपुग्दैको अवस्थाको समस्या र जटिलता सम्झेर दुःख पनि लाग्यो । त्यति सुन्दर रारामा प्रशस्त होटल नहुनु, जोखिमपूर्ण सडक, सवारी साधनको सामान्य मर्मत गर्ने केन्द्रको पनि त्यत्तिकै समस्या, चिसो र लेक लाग्ने सम्भावना भएकोले बिरामी हुनसक्ने सम्भावना रहने हुँदा स्वास्थ्य संस्था र जनशक्तिको व्यवस्थापन हुनु पर्ने, हवाईमार्ग पनि त्यति सहजता नभएकोले पर्यटन बोर्ड र नागरिक उड्डयन प्राधिकरणले पर्यटन प्रवद्र्धन गर्न अलि दिल खोलेर सहयोग हुनुपर्ने, स्थानीय तहमा जाने बजेटबाट सोलार उज्यालो कार्यक्रम र नमूना शिक्षा कार्यक्रम गर्नु पर्ने, प्रदेश सरकारले लिफ्ट खानेपानी र कृषि सिँचाइ कार्यक्रम र सडक सुरक्षा एवं सडक स्तरउन्नति कार्यक्रम ल्याउनु पर्ने, संघीय सरकारले निःशुल्क मोबाइल सेवा र फ्रि वाइफाइ सेवा कार्यक्रम र पर्यटन विकासका लागि लगानीमैत्री कार्यक्रम ल्याउनुपर्दछ । यसरी कर्णाली क्षेत्रको विकास गर्न सकिने देखिएको छ । यी अल्पकालीन योजना सञ्चालन गर्दै दीर्घकालीन योजना पनि निर्माण गर्नु जरूरी छ ।
रारा एउटा प्राकृतिक सुन्दरताले भरिपूर्ण पर्यटकीय गन्तव्य भएकोले यसको संरक्षण, संवद्र्धन र प्रचारप्रसार गर्नु पर्दछ । राराको विकास गर्न दैलेख, कालिकोट, जुम्ला, मुगु जिल्लाका सडकको स्तरोन्नति गरी यातायाआत सहज बनाउनु जरूरी छ । यसैगरी सडक सुरक्षा, सवारी मर्मत केन्द्रको व्यवस्था, स्वास्थ्य सेवा सर्वसुलभ, बासबस्ने होटलको राम्रो प्रबन्ध, वैकल्पिक ऊर्जाको माध्यमबाट उज्यालोको व्यवस्था, भरपर्दो मोबाइल नेटवर्कको प्रबन्ध हुन सकेमा पर्यटनको माध्यमबाट आर्थिक सामाजिक रूपान्तरण हुन सक्नेमा विश्वास गर्न सकिन्छ । (लेखकः नेपाल सरकारका उपसचिव एवं सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।)
थप सम्बन्धीत समाचार
वर्तमान गतिविधिहरू
फागु पर्व वा होली पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको चाड हो । हिन्दू संस्कृतिअनुसार यसको इतिहास त्रेता युगसँग जोडिएक