आर्थिक विकासमा पर्यटनको भूमिका।

कोरोना भाइरसविरूद्धको लागि अहिले नेपाल लगायत धेरै देशमा खोप लगाउने क्रम निरन्तर चलिरहेको छ । कोरोना भाइरसको महामारीले विश्व अर्थतन्त्र तहसनहस बनाएको अवस्थामा खोपले सवैको मनोबल बढाएको छ । कोरोना भाइरसले धेरै मानवीय क्षती र सामाजिक असर पु¥याएको छ । भाइरससम्बन्धी विज्ञ एवं वैज्ञानिकहरूकोरोना भाइरसलाई परास्त गर्न भ्याक्सिनको अनुसन्धानमा Virologists अहोरात्र लागि परेर भ्याक्सिन पत्ता लगाउन सफल भएका छन् । सम्भवतः कोरोना भाइरसविरूद्धको खोपले अर्थतन्त्रलाई गतिशील बनाउने सम्भावना प्रबल देखिन्छ । अहिले सम्म अर्थतन्त्रमा पारेको असरलाई खोपको माध्यमबाट माथि उकास्न सकिने देखिएको छ । अर्थतन्त्र बलियो बनाउने आधार पर्यटन हो ।

नेपालको भौगोलिक बनोटले पनि पर्यटकलाई विभिन्न खालको अनुभवहरु पस्किन सफल भएकोछ । उच्च हिमाल, जहाँ हिमाल आरोहण गर्ने पर्यटकलाई अवसर प्रदान भएकोछ । अनि पदमार्गमा भ्रमण गर्न चाहने पर्यटकलाई मनमोहक हिमाली दृश्य, सलल बग्ने नदी, छहरा र नेपालीको आतथ्यिताले लोभ्याएकोछ । त्यस्तै, वन्यजन्तु अवलोकन गर्ने साथै सांस्कृति मनोरञ्जनसमेत प्राप्त गर्ने भित्री मधेशले पर्यटकलाई मख्ख बनाएको छ । समथर भूभागको भ्रमण, फरक भाषा संस्कृतिलाई नजिकबाट अनुभव गर्ने चाहने पर्यटकलाई नेपालको तराईको भूभागले उक्त अवसर दिन सकेको छ । त्यसैले एउटा देशको भ्रमणबाट पर्यटकको आफ्नो रुचि अनुसारको भ्रमण गरी फरक खालको अनुभव बटुल्न सम्भव छ । त्यसैले होला विश्वमा नेपालमा गन्तव्य मुलुकको सूचिमा अग्रस्थानमा रहन सफल भएकोछ । विश्वमा नेपाललाई पर्यटनको माध्यमबाट सजिलै चिनाउन सकिन्छ ।
अब नेपाललाई आर्थिक दृष्टिकोणले विकास गर्न सकिने प्रमुख तीन क्षेत्र हुन् । ती हुन् कृषि, पर्यटक र जलविद्युत् योजना । यसमध्ये पर्यटन क्षेत्रको विकास र विस्तारबाट देशको अर्थतन्त्रमा महत्वपूर्ण टेवा दिन सकिने विषयमा कुनै शंका छैन । देशको अर्थतन्त्रलाई विकास गर्ने ठाउँ सुहाउँदो योजनालाई अघि बढाउन सक्ने हो भने जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याउन सम्भव रहन्छ ।

मुलुकको अर्थतन्त्रलाई मध्येनजर राखी आर्थिक विकास गर्ने बारे योजना बनाउँदा कसरी रोजागारीको सिर्जना गर्न सकिन्छ भन्ने विषयलाई नै प्राथमिकता दिन जरुरी छ । वर्तमान अवस्थामा रोजगारीको अवसर आफ्नै देशमा नभएको कारण विदेशीने बाध्यात्मक अवस्था विद्यमान छ । कोरोनाको महामारी फैलिनु पूर्व करिव १६०० युवाहरु प्रतिदिन देशबाट रोजागारीको निमित्त विभिन्न मुलुकमा बाहिरीरहेका थिए । यसरी आफ्नो मुलुक भने दिन प्रतिदिन उजाड बन्दै गएको महसुस गर्न सकिन्छ । युवा पलायनबाट ग्रामीण बस्तीहरु युवाविहीन बन्दैछन् । खोप विश्वका सबै देशमा नपुगेको अवस्था जगजाहेर छ यद्दपि कोरोनाका महामारीबीच अहिले पनि रोजगारीका लागि धेरै युवाहरू दिन प्रतिदिन विदेशीने गरेका छन् ।

यसकारण ग्रामीण क्षेत्रमा भएको जग्गा जमिनको प्रयोग र बसोवासको अवस्था दयनीय बनेको छ । युवा पलायन भएका छन् भने उनीहरुमा आश्रित परिवार पनि केटाकेटीको शिक्षा पालनपोषणको लागि शहरतिर आकर्षित बन्दैछन् । आफ्नो गाउँ बस्तीलाई गुलजार गर्नुको सट्टा शहरतिर लर्कन लाग्ने अवस्था बढ्दै गइरहेको छ । एकातर्फ ग्रामीण बस्तीहरु उजाड बन्दै जानु अर्कोतर्फ शहरमा जनसंख्याका वृद्धिले विभिन्न किसिमका महामारीलगायत अन्य कारणबाट शहरीया जीवन कष्टकर बन्दै जाने स्थिति देखा परेकोछ । यो चुनौतिपूर्ण परिवेश हो । यसको समाधान भनेको ग्रामीण बस्तीहरुमा रोजागारीको सिर्जना गरी युवा जनशक्तिलाई नै गाउँ गाउँमा रोक्न सक्नुपर्छ । यस खालको वातवारण तयार गर्न यस मुलुकलाई प्रकृतिले सघाएको छ । यसको अभाव भनेको पर्यटन कार्यक्रम र लगानीको कमी हो ।

पर्यटनको विकासबाट रोजगारीको अवसर सिर्जना गर्ने सम्भावनालाई चर्चा गर्दा विभिन्न खालका कार्यक्रमलाई अघि बढाउन सकिन्छ नेपालको प्राकृतिक सांस्कृतिक, धार्मिक अवस्थाका कारणले भ्रमण गर्न आएका पर्यटकलाई बसोबासको लागि निर्मित तारे होटलदेखि सामान्य होटल गेष्ट हाउसको लागि आवश्यक जनशक्तिलाई आगन्तुकप्रति गरिने स्तरीय व्यवहारको लागि तालिम दिई परिस्कृत जनशक्ति आधुनिक सेवा सुविधा उपलब्ध गराउने मौका प्रदान गरी पर्यटक लोभ्याउने प्रशस्त सम्भावन छन् । सफा, स्वच्छ स्थान र स्तरीय व्यवहारदेखि सबै पर्यटक खुसी हुन्छन् । होटल व्यवसाय पनि सफा, व्यवस्थित, भाइरसमुक्त प्रकारको व्यवस्थापन गर्न जरूरी छ । नेपालको प्राकृतिक रूपमा सुसज्जित दृश्यबाट विदेशी पर्यटकलाई लोभ्याई नेपालमा बसाई लम्ब्याउन सकिन्छ, प्रसस्त मात्रामा विदेशी मुद्रा आर्जन गर्न सकिन्छ, नेपालीले रोजगारी प्राप्त हुन सक्छ, अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्न सकिन्छ, विदेशी लगानी भित्र्याउन सकिन्छ, अन्तर्राष्ट्रिय रुपमा नेपाल र नेपालीको पहिचान दिन सकिन्छ, शिक्षा र स्वास्थ्यमा सुधार हुन सक्छ, समग्रमा आर्थिक विकास हुन सक्छ, पर्यटनका माध्यमबाट आर्थिक सामाजिक रुपान्तरण गर्न सकिने र समृद्ध नेपाल हुन सक्नेमा आशा गर्न सकिन्छ ।

हामीले अवलम्बन गरेको परम्परागत शैली भन्दा आधुनिक शैली आवश्यक छ । जसको तालिम र सोचाइमा परिवर्तन हुन आवश्यक छ । पर्यटकहरु नेपाली परिवारसंगसंगै बस्न, संगै खान र उनीहरुको दिनचर्यालाई नजिकबाट अनुभव गर्न रुचाउने खालका हुन्छन् । यस्ता अवसर होम स्टे कार्यक्रमबाट प्रदान गर्न सम्भावना हुन्छ । पछिल्ला दिनहरुमा यस्ता कार्यक्रमहरु लोकप्रीय बन्दै गइरहेका छन । यसको प्रचारप्रसार गर्न सकियो भने ग्रामीण बस्तीमा धेरै सकरात्मक प्रभाव पार्न सफल हुनेछ । पर्यटन उद्योगलाई अघि वढाउन पर्यटनसम्बन्धी शिक्षासँग जोडिएर अघि बढाउन पर्छ । होटल व्यवस्थापनको कक्षाहरु अलवा पथ प्रदर्शकको तालिम र व्यवहारिक रुपमा यसको कार्यान्वयन तर ध्यान जानु आवश्यक छ । खाना तयार गर्ने स्तरीय सेवा दिने र मिठो बोल्ने आदि सेवाग्राहीको लागि ध्यान दिनुपर्ने विषय पनि हो । यसमा परिस्कृत व्यवहार पर्यटकप्रति देखाउनु पर्दछ ।

पर्यटकहरु केवल घुम्न मात्र आएका हुँदैनन्, यस ठाउँबाट उत्पादित वस्तुहरु चिनोको रुपमा लैजान सबैको चाहना हुन्छ । यसको लागि उपहारका सामग्री उपलब्ध गराउनको लागि घरेलु उद्योग स्थापना गरी उपहारको लागि आकर्षक वस्तुहरु उत्पादन गरी पर्यटकलाई विक्री गर्न सकिन्छ । जसले गर्दा उद्यमशील महिलाहरुलाई समेत सुनौलो मौका प्राप्त हुनेछ । नेपालभित्र रहेका प्राकृतिक मनमोहक दृश्य मात्र होइन, मानव निर्मित सम्पदाले पर्यटकलाई मनमोहक बनाएको छ । पुर्खाले निर्माण गरेको सांस्कृतिक धरोहरबाहेक आधुनिक शैलीका मठमन्दिर निर्माण गर्न सकियो भने विदेशी पर्यटकलाई मात्र होइन आन्तरिक पर्यटनबाट आर्थिक उपार्जन गर्न सकिन्छ । पर्यटन उद्योगको चुरो वस्तु भनेको प्रचार प्रसार नै हो सामान्य विषयलाई पनि यसको महत्व बुझाउन र चिनाउन सकियो भने हेर्न घुम्न आउनेको संख्यामा अत्यधिक वृद्धि हुन्छ ।

प्रचारप्रसारको आधुनिक प्रचार सामग्री र नयाँ प्रविधिले यसले सरल र सहज बनाएको छ भने अर्कोतर्फ कडा प्रतिस्पर्धा भने दिन प्रतिदिन बढिरहेको छ । यस्ता कडा प्रतिस्पर्धाको वावजुत पनि भ्रमणको प्याकेज तयार गरी विभिन्न शैलीले पर्यटकलाई आकर्षण गर्न सकिन्छ । नेपालीमा उखान छ ‘बोल्नेको पिठो पनि बिक्दछ नबोल्नेको चामल पनि विक्री हँुदैन’ यसैले सुनाउ बुझाउ अनि आगन्तुकलाई आकर्षण गरौँ । सम्झनाका अनगिन्ति चाँङ हुदा हुदै पनि व्यवहारिक कारणबाट सफल हुन नसक्नुमा वातावरणले भूमिका निर्वाह गरेको छ । यदि अनुकूल वातावरण भएन भने केही गर्न सक्ने अवस्थामा नै रहदैन । कोरोना भाइरसको महामारीले गर्दा यस्तै भएको छ । त्यसैगरी नेपालमा यहाँको राजनितिक अवस्था, राजनीतिक खिचातानी, बन्दाबन्दी, बन्द हड्ताल, तालाबन्दी, नाकावन्दी, सिल यस्तै यस्तै वातावरणले प्रशस्त पर्यटन विकासको सम्भावनालाई खुम्चाएर सून्य बनाउँदै लगेको छ । अहिले कोरोना भाइरसविरूद्धको भ्याक्सिन प्रयोगमा ल्याइसकिएकोले पर्यटन विकासमा मद्दत पुग्न सक्ने देखिन्छ । आशा गरौँ पर्यटनसम्बन्धी समस्या चाँडै सुल्झने छ ।

युगौँदेखिको नेपाली जनताले चाहेको आफ्नो देशको सम्बिधान जनताको प्रतिनिधिले बनाउने चाहना पूरा भएको छ । संघीयता कार्यान्वयन भएकै छ । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार तथा निर्वाचित जनप्रतिनिधिहरू सकृय भएर विकासमा लागेको अवस्था छ । पर्यटनलाई व्यवस्थित गर्न तिन तहका सरकारले कानुन र कार्यविधि बनाई बजेटको सुनिश्चितता गर्ने प्रयास भएका छन् । यसको सफल कार्यान्वन गरी मुलुकले आर्थिक सम्वृद्धिको एजेन्डालाई अघि वढाउने छ । पर्यटन क्षेत्रको विकासका सम्भावनालाई अगालेर देशको आर्थिक विकासको मेरुदण्ड नै पर्यटक र पर्यटन व्यवसाय हुने छ । नेपाल र नेपालीको लागि राजनीति गर्ने नेताहरुले छातीमा हात राखी वाचा गरी व्यक्तिगत स्वार्थबाट अलग्गिएर मुलुकको आर्थिक विकासको लागि अघि वढाउने छन्, यदि यसतर्फ केही सोचियन भने मुलुक ढुङ्गे युगतिर फर्कने अवस्था हुनेछ ।

विश्वमा कोरोनाको कहर आज पनि विकराल नै रहेकोले ढुक्क भएर पर्यटन विकास अगाडि बढाउने अवस्था नभए पनि आन्तरिक पर्यटनलाई सूरक्षितसाथ सञ्चालन गर्न प्रयास गर्नु आवश्यक छ । आर्थिक विकासको मूल आधार– पर्यटन हो । त्यसैले आन्तरिक एवं बाह्य पर्यटकका माध्यमबाट पर्यटन व्यवसायलाई विकसित गर्नेतर्फ सबै लाग्नु पर्दछ । यसमा नेपाल र नेपालीको सुखद भविष्य जोडिएको छ । पर्यटन विकास नै आर्थिक विकासको मूल आधार हुनेछ । पर्यटनको माध्यमबाट आर्थिक विकासमा मूख्य भूमिका रहने विषयमा विश्वास गर्न सकिने छ । (लेखकः नेपाल सरकारका उपसचिव एवं सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।)

थप सम्बन्धीत समाचार

वर्तमान गतिविधिहरू

फागु पर्वको सबैमा शुभकामना

फागु पर्व वा होली पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको चाड हो । हिन्दू संस्कृतिअनुसार यसको इतिहास त्रेता युगसँग जोडिएक

वन्यजन्तुको संरक्षण र छाडा चौपायाको व्यवस्थापन

जनावरलाई स्तनधारी, जलचर, सरीसृप, पंक्षी आदि विभिन्न प्रकारले बर्गीकरण गरिएको हुन्छ । विशेषगरी घरपालुवा र जङ्गली जनावर हुन्छन् । घरमा हेरचाह गरी संगै पाल्ने, खुवाउने र खेल्न मिल्ने जनावरलाई