विकासमा राजनीतिकरणको प्रभाव ।

राज्य सञ्चालनको लागि आवश्यक सबै प्रकारका नीतिहरुमा राजनीति सर्वोच्च नीति हो । वास्तवमा सबै प्रकारका नीतिहरुको उदगम नै राजनीति हो । मुलुकको सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनैतिक विकासका लागिसमेत अपरिहार्य नीतिहरुको प्रादुर्भाव, कार्यान्वयन, सम्भार, सञ्चालन, परिमार्जन राजनीतिबाट नै हुन्छ । देशको शासन व्यवस्थालाई सुव्यवस्थितरूपमा सञ्चालन गर्नका लागि राजनीतिक पक्ष राज्यको महत्वपूर्ण अंग हो । खासगरी व्यवस्थापिका, कार्यपालिकाको संरचना र नेतृत्व राजनैतिक पक्षको प्रतिनिधित्व हुन्छ । राज्य संचालनको नियम, कानुन बनाउनेदेखि त्यसको सफल कार्यान्वयन गराउन राजनैतिक नेतृत्वको महत्वपूर्ण भूमिका हुन्छ । देशको कर्मचारीतन्त्रलाई चुस्त, दुरुस्त राख्न, शुसासन कायम गर्नसमेत सक्षम राजनैतिक नेतृत्व दिने नेताहरूको जरुरत पर्दछ । त्यसैले राजनीती वास्तवमा समाज र राष्ट्रलाई सही मार्गमा हिडाउने वा डोराउने साधन हो भन्न सकिन्छ । देशको विकास र सम्पन्नता त्यो देशमा विद्यमान राजनैतिक प्रणाली र राजनीतिक गतिविधिमा निर्भर गर्दछ । राजनीतिनै देश निर्माण गर्ने महत्वपूर्ण साधन हो । समाजमा रहेका तमाम वर्गहरूको जीवन निर्वाहलाई सहज बनाउन राज्य संयन्त्र चुस्त, जनउत्तरदायी, क्रियाशील, जनमुखी, विकाशप्रेमी, विकेन्द्रिकृत, लोकतान्त्रिक, पारदर्शी, भष्ट्राचारमुक्त, सेवामुखी हुनु आवश्यक छ । अहिले देखिएको राजनीतिक माहोलले गर्दा आमजनता निरास देखिएका छन् ।

शासन, शासक र राजनीति प्रतिको जनताको विश्वास निरन्तर ओरालो लाग्दो छ । आर्थिक परिसुचांकहरु प्रायः नकारात्मक उन्मुख छन् । संगठित अपराधका बहुरुपी आयामहरु नियन्त्रण बाहिर जाँदै छन् । हत्या, हिंसा र बलात्कार जस्ता सामाजिक अपराधले समाज ग्रस्त छ । राज्य काबु वा नियन्त्रण भन्दा बाहिर जान लागेको अवस्था देखा पर्दैछ । दण्डहीनता मौलाउँदै गइरहेको छ । नेपालको इतिहासलाई एकपटक फर्केर हेर्ने हो भने परिवर्तन धेरैपटक भएको पाउन सकिन्छ तापनि जनताको जीवनस्तर, सामाजिक सांस्कृतिक परिवर्तनहरू खासै उल्लेखनीयरूपमा हुनसकेको हामी देख्न सकिरहेका छैनौँ । मूलतः जे जति राजनीतिक परिवर्तनहरू भयो त्यसपश्चात् परिवर्तनको लागि नेतृत्वदायी भूमिका खेलेका राजनैतिक दल र नेताहरू इमान्दार एवं जनउत्तरदायी भएर जनताको विकास, निर्माणको काममा समर्पित हुनुभन्दा बढी कसरी व्यक्तिगतरूपमा आफ्नो आय आर्जनमा वृद्धि हुन्छ, कसरी आफ्ना सन्तती, परिवार, नातागोता, भाइभतिजाहरूको व्यक्तिगत जीवनलाई आर्थिकरूपले माथि उठाउन सकिन्छ त्यसतर्फ नै बढी ध्यान केन्द्रित गरेको प्रष्ट देख्न सकिन्छ । संसद्लगायत स्थानीय तहमा निर्वाचन हुँदा प्रशस्त मात्रामा निर्वाचनको प्रचार प्रसारमा गरिने खर्चले समेत पछि निर्वाचन जितेर पदमा आसिन भइसकेपछि पहिला चुनाव लड्ने समयमा गरिएको खर्च उठाउनसमेत पदीय दुरूपयोग गर्ने प्रमुख कारक तत्व बन्न गएको देखिन्छ । यस्तो गतिविधिलाई रोक्नको लागि चुनावमा प्रतिस्पर्धा गर्दा गरिने खर्चको सिमा जुन तोकिएको हुन्छ यसलाई निर्वाचन आयोग लगायतका निकायहरूले कडाइका साथ नियन्त्रण र नियमन गर्नुपर्ने हुन्छ ।

मुलुक यतिबेला संघीयता र पुनर्जागरणको युगमा छ । यो युगको शासन सत्ता चलाउने चाबी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को हातमा छ । प्रायः सत्ताको मियोमा रहँदै आएको कांग्रेस प्रतिपक्षको भूमिकामा छ । तर केही दिन यता नेकपा भित्रबाटै कलह सिर्जना भएर देशको शासनमा अप्ठेरो परेको महसुस गरिँदैछ । जनता अलमल्लमा परेको पाइन्छ । आजसम्म खेलेको राजनीतिक भूमिकालाई पनि नेपाली जनताले नजिकबाट नियालिरहेका छन् । आर्थिक समृद्धि र विकास केवल नारामा मात्र जाने भयो भन्ने चिन्ता थोपरिएका छन् । कोरोनाबाट थला परेको नेपाली अर्थतन्त्र माथि उठ्ने आशमा रहेको समयमा नेकपाभित्रको आपसी कलहले गर्दा अर्थतन्त्र सिकिस्त थला पर्ने देखिएको छ । फोहोरी खेलको राजनीतिले गर्दा विगतमा मातृ, पितृ, गुरु, ऋषि–ऋणसमेत तिर्नुपर्छ भन्ने मान्यतालाई जीवित राखेको हाम्रो समाज आज आफैँले खाएको ऋणसमेत नतिर्ने अवस्थामा पुगेको छ ।

भूमाफियाको चंगुलमा खेतीयोग्य जमिन परेको छ भने सरकारको उपस्थिति दयनीय बन्दै छ । कर्मचारी, राजनीति र भूमाफियाको मिलेमतोमा निर्माण गरिएका नीतिको कारण खेती गर्नुभन्दा किनेर खान सस्तो पर्दैछ । विश्व राजनीतिमा उपादेयता गुमाइसकेका एजेन्डाहरूलाई नयाँ रङरोगनसहित नेपाली समाजमा मिसाउन हतारिएका शक्तिहरूको कारण मुलुक विचित्रको दलदलमा फसिसकेको छ । धर्म, जाति, भाषा, क्षेत्र, लिङ्ग, अभाव, कुरीति, गरिबीजस्ता विषयमा रणनीतिक ढङ्गले समाजलाई विद्रोही बनाउने, अधिकार प्राप्तिको नाममा अनिष्ट निम्त्याइँदै आफ्नो स्थान सुरक्षित गर्ने विदेशी रोगहरू मुलुकमा जरा गाड्न सफल भएका छन् । सिद्धान्त र नैतिकता नै सबैभन्दा ठूलो मान्नेहरू समेत मौका मिल्दा झुट बोल्ने राजनीतिमा हाम्रोजस्तो लोकतन्त्रको झुट, धोका, षड्यन्त्र हुनु आफैँमा जायज नै मान्नुपर्ला । धोका, हिंसा र छलकपटको जगमा जन्माइएको हाम्रो लोकतन्त्रमा राजनीतिबाट नेपाली जनता अब के र कसका लागि राजनीतिको वकालत गर्ने भन्नेमा दोधारमा परेका छन् । तैपनि लोकतन्त्रको विकल्प लोकतन्त्र भन्ने सिध्दान्तले काउकुती लगाइरहेको छ ।

प्राथमिक तहका विद्यार्थीदेखि राजनीति, शिक्षकमा राजनीति, कर्मचारीमा राजनीति, ब्यापारमा राजनीति, उद्योग कलकारखानामा राजनीति, वन जंगलमा राजनीति, सूचना सञ्चारमा राजनीति, बालवृद्धमा राजनीति सबैमा खुला राजनीति भएको सबैलाई थाहा छ । यति सम्म कि शिष्यले गुरूलाई विना गल्ती गाली गर्ने, मनपरी भन्ने छुट पनि यही राजनीतिले गर्दा भएको छ । देशको प्रधानमन्त्री, राष्ट्रपति, पार्टीको नेतृत्व गर्नेलाई सानातिना सबैले गाली घृणा गर्ने छुट पनि यही राजनीतिले दिएको छ । सामाजिक मूल्य मान्यता, संस्कार, आदर, सम्मान र नैतिकता भन्ने विषय अव इतिहासका पानामा अध्ययन गर्न मात्र सीमित राख्नु पर्ने हो कि भन्ने चिन्ता लाग्न थालेको छ । गाउँघरमा एउटा पार्टीका व्यक्ति र फरक पार्टीका व्यक्तिबीच कुनै समय बोलीचाली नै बन्द जस्तै पानी बाराबार थियो । आन्दोलन केवल लोकतन्त्रका लागि नभएर नेताका स्वार्थका लागि रहेछ भन्ने कुरा जनता बुझ्न थालेका छन् ।

हामीले क्याम्पस अध्ययन गर्दा डार्विनको विकासवादी सिद्धान्तमा भनिएको थियो प्रत्येक सजीवमा अत्याधिक सन्तानोत्पादन गर्ने क्षमता भएको हुँदा सजीवहरूका संख्या अत्याधिक बढेर जान्छन् । यसबाट खान र बस्नको अभाव सिर्जना हुने हुँदा सजीवहरू बाँच्नको लागि खान, बस्न, प्रजनन गर्न, रोग र वातावरणसँग निरन्तर संघर्ष गरिरहनु पर्दछ । संघर्ष गर्न सफल जीवहरू अर्को पुस्तामा जान सक्षम हुन्छन् भने संघर्ष गर्न नसक्ने लोप भएर जान्छन् । यो डार्बिनको बाँच्नको लागि संघर्ष सिद्धान्त हो । बढी उन्नतशील जीवको छनोट र कम उन्नतशील जीवको विनाश हुन्छ । यस प्रवृत्तिलाई प्राकृतिक छनोट भनिन्छ । संघर्षमा विजयी बाँच्न सफल हुन्छन् । बाँच्न सफल सजीवका गुणहरू निरन्तर सन्ततिहरूमा सर्दै जाँदा धेरै वंशपछि पुर्खाहरू भन्दा फरक गुण भएका सन्तानको उत्पत्ति हुन्छ । यिनै सन्ततिहरूलाई नयाँ जातिको उत्पत्ति मानिन्छ । डार्विनका वैज्ञानिक सिद्धान्तहरु मानव समुदायसामु कसरी लागू हुन्छन् भन्ने जीज्ञासाले धेरैलाई कौतुहल बनाइराखेको थियो होला। अहिलेको नेपाली राजनीतिमा पनि यस्तै अवस्था नआउला भन्न सकिँदैन ।

नेपाली परिवेशमा समृद्धता सम्भव नभएको पनि होइन । यसका लागि असल शासकको आवश्यकता छँदैछ । साथै जनता जर्नादन पनि निरन्तर कर्मठ हुनुपर्दछ । कर्म, समृद्धि र अस्तित्व परिपुरक छन् । समृद्धि र अस्तित्व गफले होइनन् अनवरत रुपमा गरिने सिर्जनात्मक कर्मले प्राप्त गर्न सकिने उपलब्धि हुन् । हालको अवस्थामा नेपाल राष्ट्र नयाँ संघीय युगमा प्रवेश गरिसकेको छ ।
अबको समयमा कर्मठ नेपालीहरू दलीयकरणको धापबाट उम्किई कर्ममा समर्पित हुनुपर्ने नै सवैभन्दा ठूलो राष्ट्रिय आवश्यकता छ । राजनीति दलमा शैक्षिक ज्ञान र निश्चित उमेर समूहका व्यक्तित्वबाट शासन सञ्चालन गर्ने र पुराना ज्येष्ठ नेताहरू सल्लाहकारको भूमिका निर्वाह गर्नुपर्ने अवस्थाको सिर्जना हुनसक्छ । नेपाली जनता जहिलेसुकै आन्दोलनमा जानुपर्ने र आर्थिक चपेटामा पिल्सिनु पर्ने दिन नआयोस् भन्ने कामना गर्दछु । नेपाल र नेपालीको मान प्रतिष्ठा बढाउन हामी सवैले समयमा सोचेर एकजुट भएर अगाडि बढ्नु जरूरी छ ।

थप सम्बन्धीत समाचार

वर्तमान गतिविधिहरू

फागु पर्वको सबैमा शुभकामना

फागु पर्व वा होली पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको चाड हो । हिन्दू संस्कृतिअनुसार यसको इतिहास त्रेता युगसँग जोडिएक

वन्यजन्तुको संरक्षण र छाडा चौपायाको व्यवस्थापन

जनावरलाई स्तनधारी, जलचर, सरीसृप, पंक्षी आदि विभिन्न प्रकारले बर्गीकरण गरिएको हुन्छ । विशेषगरी घरपालुवा र जङ्गली जनावर हुन्छन् । घरमा हेरचाह गरी संगै पाल्ने, खुवाउने र खेल्न मिल्ने जनावरलाई