सैनामैनाको पहिचान र विकासको अवस्था - Mechikalinews.com

टेकराज पन्थी
नेपालको पश्चिमाञ्चल क्षेत्रमा पर्ने लुम्बिनी प्रदेशको रूपन्देही जिल्लाअन्तर्गत उत्तर पश्चिममा अवस्थित वि.सं. २०७१ साल वैशाख २५ गते गठन भएको नगरपालिका हो । यस नगरपालिकाको मूल नारा ‘कृषि, पर्यटन, उद्योग र पूर्वाधार, सु–संस्कृत, समृद्ध नगर सैनामैनाको आधार’ भन्ने रहेको छ । विश्व शान्तिका अग्रदूत तथा महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीदेखि करिब १५ किमी उत्तर मनोरम चुरे पहाडको काखमा अवस्थित छ ।

सैनामैना नगरपालिकाको पूर्वमा बुटवल उपमहानगरपालिका, पश्चिममा बाणगंगा नगरपालिका (कपिलवस्तु, उत्तरमा शीतगंगा नगरपालिका (अर्घाखाँची), रैनादेवी छहरा र तिनाउ गाउँपालिका (पाल्पा), दक्षिणमा शुद्धोधन, कञ्चन र गैडहवा गाउँपालिका रहेका छन् । साविकको पर्रोहा र दुधराक्ष गाविस एक आपसमा समायोजन गरी विसं. २०७१ साल वैशाख २५ गते सैनामैना नगरपालिका बनेको हो । विसं.२०७३ साल फागुन २७ गते राज्यको पुनःसंरचनापश्चात् साविकको सालझन्डी गाविस समायोजन गरी सैनामैना नगरपालिका बनेको हो । सैनामैना नगरपालिकामा हाल ११ वटा वडा रहेका छन् । यो नगरपालिका १६२.१८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । वि.सं. २०६८ सालको राष्ट्रिय जनगणनाअनुसार यहाँको जनसंख्या ५५८२२ रहेको छ भने जनघनत्व ३४४.२ प्रति वर्ग किमी छ । नगरपालिकाभित्र सबै जातजाति, भाषा भाषी संस्कृति एवं परम्पराको समिश्रण रहेको छ । नगरवासीहरुबीच सुमधुर सम्बन्धसहितको बसोबास छ ।

ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्व बोकेको सैनामैना क्षेत्र नेपाल सरकारबाट नेपालको सयौ पर्यटकीय गन्तव्यमध्ये सैनामैनालाई २०७५ साल कार्तिक १५ गते पर्यटन गन्तव्यको रुपमा घोषणा भएको छ । यस नगरपालिकामा बसाइसराइ गरी आउने क्रम बढ्दो रुपमा रहेको छ । हालको अनुमानित जनसंख्या करिब ७१००० रहेको छ । यस नगरपालिकाको दक्षिण भागमा बहुसंख्यक आदिवासी र थारु जातिहरुको बसोबास रहेको छ भने उत्तरी भेगमा मिश्रित खालको जातजातिहरुको बसोबास रहेको छ । विभिन्न ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका स्थलहरु रहेको यो नगरपालिकाको गहनाको रुपमा ऐतिहासिक पुरातात्विक सैनामैना क्षेत्र, स्वंय उत्पत्तिमान शिव ज्योर्तिलिङ्ग पर्रोहा परमेश्वर बोलबमधाम, मलमला मन्दिर, मलमल चौराबाबा, महेरवादेवी, बोलबम पर्यटकीय पार्क, विभिन्न मठ मन्दिरहरु, रानीकुवा, रानीबगिया, जर्लैया सिमसार क्षेत्र आदि छन् । विकासको गतिसँगै जनप्रतिनिधिहरूको असल नेतृत्वदायी एवम् अभिभावकीय भूमिका र कर्मचारीहरूको सकारात्मक सोच एवं उत्तरदायित्वका कारण अहिले सैनामैनामा विकासमा नयाँ आयाम थपिँदै गएका छन् ।

यसै क्षेत्रबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने नेपाल सरकारका अर्थमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका महासचिवको सकारात्मक सहयोग र विकासका लागि आवश्यक बजेटको ब्यवस्थाका सहयोग गर्नु, साथै यसै क्षेत्रबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सार्वजनिक लेखा समितिका सभापति एवं नेपाली कांग्रेसका नेताको पनि सकारात्मक सहयोग रहनु, प्रदेशमा सभामा यसै क्षेत्रबाट प्रतिनिधित्व गर्ने सत्तापक्षका प्रमुख सचेतकको पनि विकास प्रति सहयोग हुनु, नगरपालिकाको महत्वपूर्ण भूमिकामा रहनुभएका सैनामैना नगरपालिकाका नगरप्रमुखले सिंहदरबारको राम्रो अनुभवी भएकोले देखिने खालका गुणस्तरीय विकास हुनु पर्दछ भनेर निकै खटिने व्यक्तित्व हुनु, निर्वाचित जनप्रतिनिधिहरूमा प्रायः सवै वडाका वडाअध्यक्षहरू विकासमा एक ढिक्का हुनु र अन्य जनप्रतिनिधिहरू पनि सैनामैनाको विकासबाट पहिचान बनाउनु पर्दछ भन्ने एउटै धारणा रहनु, यहाँका राजनीतिक दलका व्यक्तित्वहरू तथा सामाजिक अभियन्ताबाट पनि सकारात्मक सहयोग र विकास हाम्रै लागि हो भन्ने धारणा प्रशस्त पाइनु र यहाँ सञ्चारकर्मीहरूबाट पनि विकासम्बन्धी जनचेतना फैलाउने किसिमको समाचार, सूचना, सञ्चार सम्प्रेषण गरी सकारात्मक सहयोग हुनु विकासका लागि महत्वपूर्ण कोशेढुंगा बनेको छ ।

प्रत्यक्ष देख्न सकिने विकासमा सैनामैना चक्रपथ निर्माण तिव ्रगतिमा अगाडि बढेको छ । खोरमोर क्षेत्रमा बुटवल उपमहानगरपालिका, सैनामैना र कञ्चनलगायतका पालिकासँगको सहकार्यमा संयुक्त फोहोर प्रशोधन केन्द्रको निर्माणकार्य सुरु भएको छ । उद्योगहरूको एकीकृत विकास र उद्योगको व्यवस्थापनका लागि औद्योगिक ग्रामको तीव्र रूपमा काम अगाडि बढेको छ । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र राष्ट्रिय खेलकुद रंगशालाको निर्माण कार्य भइरहेको छ । विद्यालयहरूको समायोजन भई गुणस्तरीय शिक्षामा जोड दिइएको र नमुना विद्यालयको रूपमा समेत छनोटमा परी कार्य अगाडि बढेको छ । क्याम्पसमा भैतिक सुधारका लागि पूर्वाधार निर्माण भइरहेका छन् । लामीरह बहुउद्धेश्य जलाशय बाँधको विस्तृत आयोजना प्रतिवेदनको कार्य भइरहेकोछ । व्यवस्थित रुपमा हाटबजार सञ्चालन गर्न भवनहरू तयार भई उद्घाटनको चरणमा रहेका छन् ।

विकासका लागि खेल, स्वास्थ्यका लागि खेलका लागि कभर्डहलहरू र वडाहरूमा खेलमैदान निर्माण भएका छन् । पाँच सय जना जति बस्न मिल्ने ज्येष्ठ नागरिक संरक्षण ग्रामको विस्तृत आयोजना प्रतिवेदन तयार भई बजेट व्यवस्थापनको प्रकृयामा रहेको छ । १५ शैयाको अस्पताल निर्माणका लागि बजेट निकासा भएको छ । खानेपानी व्यवस्थापनका लागि खानेपानीका पूर्वाधारहरू सम्पन्न भएका छन् । नगर क्षेत्रमा कम्तीमा २० फिटे बाटाहरूमा अत्याधुनिक अस्पाल्ट प्रविधिबाट कालोपत्रे भइरहेका छन् । आधुनिक किसिमको सांस्कृतिक शहर निर्माणका लागि प्रकृया अगाडि बढाइएको छ । वन संरक्षणका लागि वृक्षरोपण गरी संरक्षण गर्ने र काठको चोरी निकासी रोक्न एवं वन संरक्षणका लागि तारवार भइरहेको छ । सालझण्डी–ढोरपाटन सडक नजिक सालझण्डी सुविधासहितको बसपार्क निर्माणको क्रममा रहेकोछ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सैनामैनाको पीपलडाँडामा रिफ्रेश सेन्टरको निर्माण तिव्र गतिमा अगाडि बढेको छ ।

वर्षौँदेखि अव्यवस्थित बसोवास गरिरहेका एवं भूमिहीन सुकुम्वासीहरूको लागि जग्गाधनी दर्ताप्रमाण पत्र (लालपूर्जा) पाउन नसकेकाहरूका लागि विवरण संकलन गरी जग्गा नापजाँच गर्ने कार्यको थालनी भएको छ । कोभिड–१९ बाट पोजिटिभ भएकाहरूका लागि नगरपालिकाको आफ्नै स्रोतबाट आइसोलेसन अस्पताल सञ्चालन गरिएको छ जसबाट करिब ३०० जना पोजिटिभ बिरामी निको भएर घर फर्किसकेका छन् । सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न सबै वडामा स्वास्थ्य चौकी सञ्चालन गरिएको छ । पर्रोहा परमेश्वरधामको वृहत्तर विकासका लागि विस्तृत परियोजना प्रतिवेदन तयार हुँदै छ । मल्मलामा अत्याधुनिक पार्कको डीपीआर तयार भएको छ । चिस्यान केन्द्रको निर्माण हुँदैछ । बाटाहरूको स्तरउन्नति भइरहेका छन् । पर्यटनका लागि पूर्वाधारहरू निर्माण भइरहेका छन् । बुद्धकालीन संग्रहालयको संरक्षण र सुधार गरिँदै छ । जर्लैया सिमसार क्षेत्रको विकासका लागि प्रकृया अगाडि बढाइएको छ ।

रेडियो मलमला, लुम्बिनी प्रदेश सरकारबाट पहिलो स्वीकृति प्राप्त साझा टिभी, रेडियो टाइम्स, रेडियो सैनामैना, किस एफ र सैनामैना सन्देश पत्रिका नगरका सञ्चारका गहनाका रुपमा रहेका छन् । नगरको विकासमा यहाँका सञ्चारसंस्थाले सकारात्मक भूमिका निर्वाह गरेको अवस्था छ । आमसञ्चारको समग्र विकासका लागि नगरपालिकाले पनि सकारात्मक रुपमा लिएर सहकार्य गरेको छ । यसैगरी होटल बाबरी, सैनामैनाको सालझण्डीमा रहेको अर्थात् छिमेकी पालिका रैनादेवी छहरा र सैनामैनाको सीमानामा रहेको कञ्चन एग्रो रिसोर्ट, होटल त्रिमूर्ति, होटल रेडचिल्ली, होटल ह्वाइटहाउस, होटल ग्लोबल, होटल ड्रिमल्याण्ड, होटल गुणाखर, होटल एप्पललगायतका करिब साना ठूला ५०० जना बासबस्न सक्ने आधुनिक किसिमका थुप्रै होटलहरू पर्यटन पूर्वाधार विकासका लागि कोशेढुंगा बनेका छन् । सैनामैनाको बीचभागबाट करिव २७ किमी लोकमार्ग रहेको छ । यसरी आवतजावतमा सवै स्थानमा सजिलै पुग्न सकिने यातायातको सहजता रहेको छ । शिक्षा तर्फ संस्थागत १८ र सामुदायिक १७ गरी ३५ वटा विद्यालयहरू रहेका छन् जसले गर्दा शिक्षाप्राप्त गर्न सजिलो रहेको छ ।

यसरी साबिकको पर्रोहा, दुधराक्ष र सालझण्डी गाविस समायोजन गरेर सैनामैना नगरपालिका बनेको धेरै भएको छैन विकासको फड्को मारिरहेको छ, जसका कारण आज सैनामैनामा के छैन ? थप विकासका लागि सुझाव पाउन सकिन्छ कि !! (लेखकः सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।)

थप सम्बन्धीत समाचार

वर्तमान गतिविधिहरू

फागु पर्वको सबैमा शुभकामना

फागु पर्व वा होली पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको चाड हो । हिन्दू संस्कृतिअनुसार यसको इतिहास त्रेता युगसँग जोडिएक

वन्यजन्तुको संरक्षण र छाडा चौपायाको व्यवस्थापन

जनावरलाई स्तनधारी, जलचर, सरीसृप, पंक्षी आदि विभिन्न प्रकारले बर्गीकरण गरिएको हुन्छ । विशेषगरी घरपालुवा र जङ्गली जनावर हुन्छन् । घरमा हेरचाह गरी संगै पाल्ने, खुवाउने र खेल्न मिल्ने जनावरलाई