प्राकृतिक प्रकोप, विपद र उचित व्यवस्थापन

 

 
 बाढि, पहिरो तथा भुकम्प जस्ता विपत्तिलाई प्राकृतिक प्रकोप भनिन्छ । यस्ता प्राकृतिक प्रकोपबाट सृजित जोखिमहरूहरु लाई विपद भनिन्छ । विश्वमा प्राकृतिक रूपमा हुने प्राकृतिक र मानवीय क्षतीलाई विपद भनिन्छ । नेपालमा बाढी, पहिरो, आगलागी, हावाहुरी, महामारी, शीतलहर, भूकम्प आदि प्रकोप प्रायः प्रत्येक वर्ष आउछ र यसले ठूलो परिमाणको मानवीय, भौतिक एवं विभिन्न क्षति पुर्याएर जान्छ । यस्ता प्रकोपबाट वर्षेनी हजारौंलाई प्रभावित, घरबारविहीन बनाउँदै आएको छ । वर्षेनी हुने यस्ता विपत्तिबाट पाठ नसिक्नु, पर्याप्त पूर्वतयारी नगर्नु, विपतको सामना गर्न तयारी अवस्थामा नबस्नु र उचित स्रोत साधनको ब्यवस्था गर्न नसक्नु जिम्मेवार तह एवं निकायको ठूलो भूल हुन आउन र यसलाई अर्को अर्थमा सरोकारवालाहरूको गैर जिम्मेवारीपना भन्न सकिन्छ । त्यसैले यस्ता प्राकृतिक विपत्ती आकस्मिकता भए पनि दीर्घकालीन रूपमा समस्याको समाधान नखोजिँदा वर्षेपिच्छे एउटै समस्याबाट पीडित भइरहेका छौं । वर्षयामसँगै हिमाली र पहाडी क्षेत्रमा सुरू हुने पहिरो र तराई मधेशमा हुने बाढीको समस्या आजको मात्र होइन ।
प्राकृतिक समस्या पूर्व सूचना दिएर आउँदैन तर यसबाट हुने अनपेक्षित परिणाम आउनु नै संकट हो । नेपाल भूकम्पको उच्च जोखिममा छ भन्ने कुरा विदितै छ ।
तराईमा प्रत्येक वर्ष बाढी र आगजनीले जीवन तथा भौतिक क्षति गर्छ भन्ने सर्वविदितै छ । यस बर्ष पनि निरन्तरको वर्षासँगै आएको बाढीले धेरै धनजनको क्षति पुराएको हाम्रो सामु जगजाहेरछ । यस वर्ष मधेशमा बाढीको प्रकोप विगतका वर्षहरूमा भन्दा अझ भयावह देखियो । पहाडमा पनि धेरै बर्षात र बाढीका कारण पहिरोले घरगोठ बगाएको, घर बगाउदा धेरै मानिसको ज्यानै गएको छ । बालबालिका, वृद्धवृद्धा, सुत्केरीहरूले खान र बस्न समेत पाएका छैनन् भने उनीहरूको शारिरीक अवस्था कमजोर भइसकेको छ । धान उत्पादनको यो समयमा सम्पूर्ण मधेश बाढीले आक्रान्त भएको छ । बाढीले मधेशका जनताको गाँस त खोस्यो नै कृषि उत्पादनहरु पनि नष्ट गरेको छ । निरन्तर निर्यात भन्दा आयात बढी भइरहेको हाम्रो देशमा यो वर्षको बाढीले अझ बढी प्रभाव पार्ने देखिन्छ र आयातमा स्वतः वृद्धि हुनेछ । यस वर्ष सलहको झुण्ड नेपाल प्रवेश गरेर कृषिमा क्षति पुराएको छ । कोभिड १९ को महामारीले विदेशबाट रोजगारी गुमाएर युवाहरू स्वदेश फर्केका छन् जसले गर्दा रेमिटान्स गुमेको छ , बेरोजगारीमा बृध्दि भएको छ, उद्धोग ब्यवसाय प्रायः ठप्प छ । एकातिर कोभिड १९ को महामारी जोखिमपूर्ण रहेको अर्कातिर प्राकृतिक प्रकोपले धनजनको क्षति भएको यस विषम परिस्थितिलाई बुध्दिमत्तापूर्ण ब्यवस्थापन गर्नु ठूलो चुनैति हाम्रो सामु खडाभएको छ ।
२०७२ सालमा आएको विनाशकारी भूकम्पले मानवीय र भौतिक क्षति पुराएको सन्दर्भमा यो वर्ष बाढी र कोभिड १९ ले पुराएको क्षति दोस्रो हो । यसले विकास र कृषि क्षेत्रमा ठूलो क्षति पुराएको छ । अविकसित देशबाट विस्तारै विकासन्मुख बन्दै गएको नेपालका लागि यस्ता प्राकृतिक प्रकोपहरूले ठूलो धक्का दिएको छ । यस्ता प्राकृतिक प्रकोपबाट जोगिन र ठूलो क्षति हुनबाट जोगाउन उचित पूर्व तयारी ब्यवस्थापन गर्न जरूरी छ ।
विपदमा परेका मानिसको उचित ब्यवस्थापन गर्न सवै पक्ष लाग्नु पर्दछ । कतिपयले समथर स्थानमा घर बनाएको छ त्यहाँ बर्षातको समयमा पानी जम्मा भयो भने विपद पर्यो राहत पाउ भन्ने, मेरो खेतमा पानीको भेल पस्यो धान डुवायो विपद पर्यो भन्ने,पानीले भात पकाउने भाडा डुवायो विपत्ती पर्यो, मेरो घरको छेउमै एउटा रूख ढल्यो विपद पर्यो भनेर राहत पाउ भन्ने धेरै उदाहरणहरू रहेका छन् । त्यसैले विपद भनेको केहो, कस्ता अवस्थामा राहत दिनु पर्छ र राहत दिने निकाय कुन कुन हुन भन्ने थाहा पाउनु पर्छ ।
बाढीले घर बगाएर खान बस्न पाएनन्, आगलागि भएर क्षति भै घरगोठ सखाप पार्यो, पहिरोले घर बगायो, दुर्घटनामा परि मानिस बाटोमा छटपटाएको अवस्थामा अस्पताल सम्म लैजानु परेमा मात्र विपद हुन्छ त्यस्तालाई खानका लागि राहत, तत्काल उद्धार गर्नु पर्दा मात्र विपद हुने हुनाले वास्तविक अर्थ नबुझेर वा बढी बुझेर वा कसैको लहैलहैमा लागेर सामान्य खेतको ढिस्को खसेर, ब्यापार ब्यवसायमा केहि नोक्सान भएर, घरमा पानी चुहेर, घरमा पानी रसाएर, घरछेउमा भत्केर आदि विपद हुदैन। त्यस्ता प्रकृतिका नोक्सान भएमा विपद नभनी ब्यापार ब्यवसायका लागि बिमा गरेको भए विमा दाबि गर्ने वा क्षतिपूर्ति दिने कुनै निकाय भए माग गर्न सकिन्छ । अन्यथा सवै प्रकृतिका क्षतिलाई विपद भन्न सकिदैन । आजभोलि विपद, प्राकृतिक प्रकोपलाई एउटै शब्द भनेर अपब्याख्या गरि राहत माग्ने तर्फ अग्रसर भएको पाईन्छ । त्यसैले राहत र क्षतिपूर्ति फरक फरक हुन भन्ने बुझ्नुपर्छ। विपदमा तत्काल नगरी नहुने र तत्काल नगर्दा मानवीय क्षतिहुन सक्ने अवस्था आएमा राहत उपलब्ध गराउनु पर्दछ ।
जोखिम, विपत् र संकटमा सूचना प्रविधिको पर्याप्त प्रयोग गर्नु पर्दछ । हामीले जति सक्दो चाँडो सुधार गरेर प्रविधिलाई सार्वजनिक सेवाप्रवाहमा अधिकतम उपयोग गर्दै जनताको दैनिक जीवन सहज बनाउन अति जरुरी छ । यस्ता प्राकृतिक प्रकोपहरु वर्षैपिच्छे आउने गर्छन् । यो विषयमा जिम्मेवार तहले हेक्का नराख्नु, पूर्व तयारी नगर्नु नै संकटपछिको विपतलाई प्रभावकारी व्यवस्थापन नगर्नु नै ठूलो समस्या हो । वनजंगल विनाश, चुरेको दोहन,जलवायूमा परिवर्तन बाढीको मुख्य कारण हो । चुरेको दोहन रोक्नु अहिलेको प्रमुख आवश्यकता हो । नदी नियन्त्रण, वृक्षरोपण, जग्गा प्लटिङमा कडाई, बसाई सराईंमा नियन्त्रण, ढलको उचित व्यवस्थापन, सरसफाईमा उचित ध्यान दिने, भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्ने, ठाउ ठाउमा पोखरी निर्माण गरी आगलागि रोक्ने, सूचना प्रविधिको उचित र प्रभावकारी प्रयोग गर्न सकेमा बाढी, महामारी, आगलागि आदि जस्ता प्रकोपबाट केही हदसम्म जोगिन सकिन्छ ।
विपत्तबाट लाभ लिने उद्देश्यबाट कुनै राजनीति हुनुहुँदैन । बास्तविक विपदमा परेकाहरूले राहतको अपेक्षा गर्नु स्वभाविकै हो तर विपद नभएर अन्य क्षतिलाई विपदसँग जोड्नु हुदैन । वास्तिवक विपदमा सबै वर्ग, समुदाय एकजुट भएर विपत्तको सामना गर्नुपर्छ । सरकार र अन्य राजनीतिक दलको आलोचना गर्नुभन्दा आफ्नो ठाउँबाट सकेको सहयोग गर्नु नै अहिलेको आवश्यकता हो । विपत्तमा परेका जनतालाई सवैको सहयोग र साथको आवश्यक छ । सवै प्रकारको प्रकोपबाट जोगिन जोखिम न्यूनिकरणको उचित ब्यवस्थापन हुन जरूरी छ । सरकार, गैरसरकारी संस्था, निजीक्षेत्र, विभिन्न सञ्चारका हस्तीहरू, नागरिक समाज, राजनीतिक दल, कर्मचारी एवं सुरक्षाकर्मी सवै विपद न्यूनिकरणमा एकजुट भै सकारात्मक योगदान पुराउनु आजको आवश्यकता रहेको छ । सवै पक्षसग सकारात्मक र रचनात्मक सहयोग होस भन्ने अपेक्षाकृत छु । विपदबाट जोगिन विपद प्रतिकार्य योजना बनाउनु पर्दछ। धन्यवाद ।।
(लेखकः नेपाल सरकारका उपसचिव एवं सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ )
 
 
 

Comments