सैनामैनाको बजेट करिब ७१ करोड




रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ७० करोड ८३ लाख ७७ हजार ५ सय ४६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।नगर उपप्रमुख बिना रानाले बुधबार नगर सभामा उक्त बजेट सार्वजनिक गर्नुभयो ।

जस अनुसार कुल विनियोजित बजेटमध्ये चालू खर्चमा तलब, भत्ता तथा अन्य सुविधा, कार्यालय सञ्चालन लगायत प्रशासनिक खर्च र अन्य व्यवस्थापन समेतको लागि ४५ करोड ९४ लाख ८७ हजार ५ सय ४६ विनियोजन भएको छ भने पूँजीगत खर्च तर्फ कुल २४ करोड ८४ लाख ७ हजार विनियोजन गरिएको छ । उक्त बजेट चालु आवको भन्दा करिव २० करोडले कमी हो । चालु आवमा ९१ करोड बढीको बजेट प्रस्तुत भएको थियो । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये संघीय सरकारबाट प्राप्त अनुदान रु ५६ करोड ९२ लाख ८७ हजार २ रुपैया, प्रदेश सरकारबाट प्राप्त अनुदान १ करोड ५७ लाख, आन्तरीक स्रोतबाट १३ करोड ३१ लाख ९० हजार ५ सय ४४ आयको अनुमान गरिएको छ ।

बजेटमा बेरोजगार युवा युवतिहरुलाई रोजगारीका अवसर सिर्जना गर्ने, भूमि बैंकमार्फत निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक कृषि प्रणालीको रुपमा विकास गरी एकीकृत कृषि प्रणालीलाई अवलम्बन गर्न कृषकलाई प्रोत्साहन गर्ने, उद्यमशील कृषि र पशुपंक्षीजन्य उत्पादनमा आत्मनिर्भर वनाउन सहयोग गर्ने, ब्यवस्थित शहरीकरणको लागि दीर्घकालीन नीति तथा मापदण्ड बनाई ‘कृषि, पर्यटन, उद्योग र पूर्वाधार, सु–संस्कृत, समृद्ध नगर सैनामैनाको आधार’ भन्ने अभियानलाई पूर्णता प्रदान गर्ने, प्राविधिक शिक्षा र सिपमूलक तालिमको माध्यमबाट स्वरोजगार बनाई जनताको जीवनस्तर सुधार गर्ने, बेरोजगार युवा तथा महिलालाई कृषि, पशुपंक्षि व्यवसायमा आबद्ध गरि आत्मनिर्भर गराउने उल्लेख छ ।

त्यसैगरी बजेटमा नगरपालिकाको नगर गुरुयोजना तुर्जमा गरी नगरको अल्पकालीन, मध्यमकालीन तथा दीर्घकालीन विकासका लक्ष्यहरु निर्धारण गर्ने नीति लिइए अुनुरुप गुरुयोजना निर्माणको कार्य अन्तिम चरणमा छ । गुरुयोजनाले समेट्न नसकेका नगर यातायात गुरुयोजना, नगर पाश्र्वचित्र, स्थानीय तहको सूचनाप्रणाली र भू–उपयोग योजना समेत तयार भइसकेको उल्लेख छ ।

त्यसैगरी स्थानीय तहमा एक अस्पताल बनाउने कार्यक्रम अनुरुप यस नगरपालिकाको वडा नं. ४ मुर्गियामा सुविधा सम्पन्न शैयाको अस्पतालको निर्माण गर्ने, सुत्केरी महिलाहरुलाई स्वास्थ्य चौकीमा नियमित चेकजाँच गरी प्रसुति समेत स्वाथ्य चौकीमा गराउन प्रोत्साहित गर्न सुत्केरी पोषण कोशेली कार्यक्रमको लागि ४ लाख विनियोजन गरिएको छ ।

आधारभूत स्वास्थ्य संस्था र २४ घण्टे प्रसुती सेवा सञ्चालन र व्यवस्थापनको लागि आवश्यक बजेटको विनियोजन गरिएको बजेटमा उल्लेख छ ।

त्यसैगरी शुन्य उपयोगबिहिन भूमिको नीति अवलम्बन गर्दै सडक छेउ, नदि, खोला किनारको जग्गा र उपयोग विहिन सार्वजनिक जग्गामा टोल विकास संस्था मार्फत आफ्नो टोलमा फलफूल लगायतका नगदे बालीको विरुवा रोप्ने र त्यसरी रोपिएका विरुवाको उत्पादनको हकभोग समेत टोल विकास संस्थाले गर्ने व्यवस्था मिलाउदै समग्र टोल विकास संस्थालाई अनुदान स्वरुप रु.१७ लाख ५५ हजार बजेट विनियोजन गरिएको छ ।

कोरोना भाईरसको कारण बैदेशिक रोजगारबाट घर फर्किएका बेरोजगार युवालाई कृषि तथा पशुपंक्षी व्यवसायमा आबद्ध गर्न विविध कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ । बैक तथा वित्तिय संस्थासंग समन्वय गरी बैदेशिक रोजगारबाट घर फर्किएका बेरोजगार युवा र कृषि तथा पशु उद्यमी व्यवसायीमध्ये १६५ जना सामुहिक वा निजी व्यवसायीलाई प्राथमिकताको आधारमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सूचिकृत भएका बेरोजगार व्यक्तिहरुलाई श्रममा आधारित न्यूनतम रोजगारीमा संलग्न गराउने व्यवस्था मिलाइएको बजेटमा उल्लेख छ ।

त्यसैगरी बजेटमा साना कृषि औजार तथा यन्त्र उपकरण, कोभिड प्रभावित भई गाँउ फर्केका कृषि व्यवसाय गर्ने उद्यमीहरुलाई उत्पादन सामाग्री उपलब्ध गराउने तथा एक स्थानिय तह एक उत्पादन कार्यक्रम र नगरपालिका स्तरिय कोशेली घर लगाएतका अन्य कार्यक्रमहरु सञ्चालनको लागि ६८ लाख ५० हजार बजेटको व्यवस्था भएको छ ।

स्रोत साधनको सिमीतता, कोभिड १९ को महामारीको विद्यमान परिस्थिति, न्युन आयस्रोत र नगरवासीको उच्च आकांक्षालाई मध्यनजर गरी महामारीले नकरात्मक प्रभाव पारेका सामाजिक र आर्थिक क्षेत्रको पुनर्उत्थान गरी समृद्धिको यात्रालाई जारी राख्न यो बजेट सार्थक हुने नगर प्रमुख चित्र बहादुर कार्कीले विश्वास व्यक्त गर्नुभएको छ ।

नगरेको क्षेत्रगत र भौगोलिक सन्तुलन कायम हुनेगरी दीर्घकालीन रुपमा प्रतिफल दिन सक्ने योजनाहरु कार्यन्वयन गर्न स्रोत, साधन, प्रविधि र जनशक्ति आदिको प्रभावकारी र कुशल रुपमा बजेटको उपयोग गर्ने रणनीति अवलम्बन गरेको नगर प्रमुख  कार्कीको भनाई छ । भूमी बैँकमार्फत प्रविधियुक्त कृषि, स्वरोजगारीमा बृद्धि, सैनामैनाको आर्थिक समृद्धि भन्ने अभियानलाई साकार पार्न भूमि बैंकको स्थापना गरि सामुहिक खेती, करार खेती र व्यवसायिक खेती गर्ने प्रबन्ध मिलाईने उहाँले बताउनु भएको छ ।

 प्रकाशित मिति: बुधवार, असार १०, २०७७

Comments