“हरिशयनी एकादशी र यसकाे महत्त्व” ।



टेकराज पन्थी ।
वैदिक सनातन हिन्दु धर्मशास्त्र अनुसार
असार शुक्ल पक्षको एकादशी तिथिलाई ‘हरिशयनी’ एकादशी भनिन्छ। ‘हरि’ भन्नाले भगवान् विष्णुलाई बुझिन्छ। ‘शयन’ को अर्थ सुत्नु हो। असार शुक्ल पक्षको एकादशी तिथिमा भगवान् श्रीहरि क्षीरसागरमा गई शेषनागमाथि शयन गर्नुहुने भएकाले यस दिनलाई हरिशयनी एकादशी भनिएको हो।

धर्मग्रन्थ र धर्मशास्त्रमा उल्लेख भएअनुसार भगवान् श्रीहरि यस दिनदेखि चार महिनासम्म क्षीरसागरमा शेषनागरूपी शय्यामा विश्राम गर्नुहुन्छ। असारको शुक्ल एकादशीमा शयन गरी भाद्र शुक्ल एकादशीमा कोल्टे फेर्नुहुन्छ र कार्तिक शुक्ल एकादशीमा जाग्नुहुन्छ। इतिहास, पुराण एवं धर्मशास्त्रहरूमा यस्ता क्षणहरूलाई उत्सवका रूपमा मनाउन उल्लेख गरिएको छ। ब्रह्मपुराण, भविष्यपुराण र वराहपुराणमा पनि भगवानको शयन, परिवर्तन र जागरण हुने समयमा उत्सव मनाउनुपर्ने उल्लेख भएकाे छ।

असार शुक्लपक्षको एकादशीका दिन उपवास गरी विधिपूर्वक चातुर्मास्य व्रत प्रारम्भ गर्नुपर्छ। व्रतले विशेष रूपमा शरीर शुद्धिका साथै आहार-व्यवहारमा शास्त्रोक्त निषेधको परिपालना गर्नुपर्छ। यस व्रतमा निराहार उपवासलाई उत्तम मानिएको छ। तर फल, फूल, तिल, दूध, दही, मोही, पानी, घिउ आदि खाएर पनि व्रत–उपवास गर्न सकिन्छ। एकादशी व्रतमा अन्न भने खान हुँदैन भनिन्छ । सबै पापहरू एकादशीका दिन अन्नमा गएर बसेका हुन्छन् भन्ने किंवदन्ती छ। व्रत बस्दा मुख्यरूपले शारीरिक अवस्था विचार गर्नुपर्दछ।

एकादशी व्रतलाई नित्यकर्मका रूपमा पालना गर्नुपर्दछ। नगर्दा दोष लाग्ने र गर्दा विशेष कामना पूर्ति नहुने कर्म नै नित्य कर्म हो। एकादशी व्रत पालन नगर्दा भगवानको उत्सवप्रति बेवास्ता र शास्त्रहरूकै अवज्ञा हुने मानिन्छ । विधिपूर्वक व्रत बस्दा विभिन्न फल प्राप्त हुने विश्वास गर्न सकिन्छ ।

श्रीहरिको शयनदेखि जागरणसम्मका चार महिनालाई चतुर्मास भन्दछन्। असार शुक्ल पूर्णिमा देखि कार्तिक शुक्ल पूर्णिमासम्मकाे चतुर्मास अवभि भरि भगवानको निरन्तर पूजा गर्नाले सम्पूर्ण पापहरू नष्ट भई भगवानको आशीर्वाद एवं कृपा प्राप्त हुने विश्वास गरिन्छ। स्वच्छभावले व्रत बसी विधिपूर्वक पालना गर्नाले भगवान् हृषीकेश प्रसन्न हुनुहुन्छ र व्रतका समस्त मनोकामना पूर्ण हुन्छन्। भविष्यपुराण अनुसार जसले भगवान नारायणको स्मरण गर्दै चतुर्मास व्रत गर्दछन्, ती मानिस देहान्त भएपछि स्वर्गमा बासहुन्छ भन्ने विभिन्न धर्मशास्त्रमा उल्लेख भएकाे पाईन्छ ।

हिन्दु धर्मशास्त्र अनुसार सबै एकादशीमा भगवान विष्णुको पूजाआराधना गरिन्छ। तर असार शुक्लपूर्णिमा देखि भगवान शयनावस्थामा रहनुहुने भएकाले भगवान लाई विशेष विधिले पूजा गर्ने चलन छ। यस दिन भगवानको प्रतिमालाई पञ्चामृत तथा शंखजलले स्नान गराएर विशेष आसनमा आसीन गराइन्छ। त्यसपछि चन्दनादिको लेप लगाई षोडशोपचारले पूजा गरेर हातमा शंख, चक्र, गदा, पद्म एवं शरीरमा पीताम्बर ( पहेलो वस्त्र) तथा आभूषण( गरगहना)ले सुशोभित गरिन्छ।

धार्मिक ग्रन्थमा उल्लेख भए अनुसार ‘हे जगन्नाथ, हजुरको शयन हुँदा संसार निद्रित हुन्छ र हजुरको जागरण हुँदा संसार जाग्दछ। हे अच्युत, ममाथि प्रसन्न हुनुहोस्’ भनी प्रार्थना गर्नु पर्दछ ।
चतुरमासा व्रत लिनेहरुले: ‘हे प्रभु, यो वर्षका चार महिना, हजुरको जागरण नभएसम्म म यो व्रत गर्नेछु। हजुरले यसलाई निर्विघ्न तुल्याउनुहोस्। मैले यो व्रत हजुरका सामु लिएको छु। यसर्थ निर्विघ्नपूर्वक व्रतको सिद्धिका लागि हजुरसँग प्रार्थना गर्दछु’ भनेर प्रार्थना गर्नु पर्दछ ।

यसरी प्रार्थना गरेपछि अनेक प्रकारका नैवेद्य, फल आदिको भोग लगाई आरती, पुष्पाञ्जली अर्पण गरेर पूजा समापन गर्नुपर्छ। ब्राह्मणलाई भोजन गराएर स्वयं आफूले फलाहार गर्नुपर्छ। रात्रिकालमा भजन, कीर्तन, कथाश्रवण गरी भगवानलाई शयन गराएपछि आफू भगवानको नजिकै शयन गर्नुपर्छ।

श्रीहरिको शयनकालमा भगवानको आशीर्वाद प्राप्त गर्न नसकिने अवस्था रहेकाले व्रतबन्ध, विवाह लगायत शुभकर्म गर्न हुँदैन। चतुर्मासा व्रतालुहरूले श्रावणमा सागपात, भाद्रमा दही, आश्विनमा दूध र कार्तिकमा दाललगायत द्विदलीय गेडागुडी सेवन नगर्दा उत्तम हुन्छ भन्ने शास्त्रवचन रहेको छ। यस्तै व्रतालुहरूले इन्द्रिय शोधन तथा शरीर शुद्धिका लागि चतुर्मासमा ज्यामिर, राजमा, मसुरो, सर्स्युं मूला, गाजर, उखु, कुभिन्डो, इमली, बयर, भन्टा, अमला आदि सेवन गर्नुहुँदैन। यस्तै माछामासु, मदिरा, लसुन, प्याज आदि व्रतालुले छुन हुँदैन। चतुरमास व्रतवस्नेहरु शुद्ध भएर व्रत गर्नु पर्दछ ।

असार शुक्ल पूर्णिमाका दिन भगवानकी प्रियस्वरूपा तुलसी घरघरमा रोपण गरी चतुर्मासभरि राधादामोदरका रूपमा तुलसी एवं विष्णुको आराधना गरिन्छ। हरिबोधिनी एकादशीमा भगवान श्रीहरि जागरण पश्चात् तुलसी विवाहोत्सव गर्ने विधान छ। धार्मिक रूपमा पवित्र एवं परं कल्याणकारी र आयुर्वेदमा अनेक रोगको निदान गर्ने गुणकारी महौषधिका रूपमा प्रसिद्ध तुलसीलाई आफ्नो घरआँगनको चोखो स्थानमा यो दिनमा रोपण गरिन्छ। यसो गर्दा आफ्नो स्थानमा साक्षात् नारायणको निवास हुने हुँदा घरमा सुख-समृद्धिको आगमन हुन्छ। “तुलसी राेपण गरि व्रत वस्ना” ले विभिन्न राेगनास हुने, श्रीप्राप्ति हुने, परिवारमा कुनै अनिष्ट नहुने, सन्तान सुख र सन्तान नभएकाहरुलाई सन्तान प्राप्त हुने, घर परिवार मात्र हाेईन देशमा शान्ति हुने, आफुले चिताएका कार्य सफल हुने, मानसिक राेग र पेटका विरामीहरुकाे लागि व्रत अज महत्त्वपूर्ण हुने, राेगव्याधले नछुने, व्यापार ब्यवसायमा सफलता मिल्ने, अध्ययनमा सफलता मिल्ने र शत्रु परास्त हुने आदि जस्ता महत्व धार्मिक शास्त्रमा उल्लेख गरिएकाे छ । भगवान विष्णुका नाममा व्रतवस्नाले स्वास्थ्यकाे लागि पनि उत्तम मानिएकाे छ । ॐशान्ति! ॐ शान्ति !! ॐ शान्ति !!! तर दीर्घराेगी र वालकका लागि भने भाेजनका लागि बर्जित छैन ।
आजकाे दिनलाई तुलसीराेपण दिवस पनि भनिन्छ । भगवान विष्णुकाे प्रतिककाे रुपमा घरघरमा तुलसी राेपिन्छ । तुलसी राेपण दिवसकाे सवैमा हार्दिक शुभकामना छ । ( लेेेेखक सैनामैना नगरपालिका रुपन्देहीको प्रमुुख प्रशासकीय अधिकृत हुनु हुन्छ )

Comments